२७ माघ, सुर्खेत ।
विद्यापुर जनता बहुमुखी क्याम्पस पञ्चपुरी ९ सुर्खेतमा विद्यार्थीहरू बीच भेटघाट तथा सदस्यता वितरण कार्यक्रम गरिएको छ । नेपाल विद्यार्थी सङ्घ को आयोजनामा क्याम्पसमा रहेका विद्यार्थीहरूबीच कार्यक्रम गरिएको हो । कार्यक्रमको सफलताको शुभकामना दिँदै नेपाली कांग्रेस पञ्चपुरीका नगर सभापति कृपाराम थापाले नेपाल विद्यार्थी संघले गरेका हरेक आन्दोलनहरूलाई आत्मसात गर्दै लोकतन्त्रको पक्षमा सबैजना लाग्न आग्रह गर्नुभएको छ ।
साथै उहाँले नेपाली कांग्रेसको विचारलाई बुझ्दै नेविसंघको नेतृत्वमा सहभागी हुन सबैलाई अनुरोध गर्नुभएको छ । क्याम्पसको स्वबियु टिमले क्याम्पसको लागि थुप्रै राम्रा अभ्यासहरू गरेको र यसबाट सबैले सिक्न जरुरी रहेको समेत उहाले बताउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ का सचिव मोहन रानाले विद्यापुर जनता बहुमुखी क्याम्पसले गरेका कामहरू कर्णाली प्रदेशमै सिक्न लायक भएको प्रशंसा गर्नुभएको छ । साथै उहाँले पश्चिम क्षेत्रका विद्यालयहरूमा नेविसंघले गरेको सक्रियता उदाहरणीय रहेको समेत बताउनुभएको छ । उहाँले आगामी दिनमा जिल्ला स्तर र नेतृत्व तहबाट गर्नपर्ने क्याम्पस र सोबियुका लागि सधैँ तयार हुने प्रतिबद्धता जनाउनुभएको छ ।
कार्यक्रममा नेपाल विद्यार्थी संघमा आबद्ध ११ जना सदस्यहरूलाई सदस्यता प्रदान गरिएको छ भने कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनले मायाको चिनो समेत प्रदान गरेको छ । कार्यक्रम नेविसंघ जिल्ला सदस्य डम्मर बादीको अध्यक्षतामा सम्पन्न भएको हो ।
