बराहताल गाउँपालिका वडा नम्बर ८ ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । सोही वडाको कुनाथरिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाले गरेका काम कारबाही र सेवासुविधाका विषयमा वडाध्यक्ष मणिराज कार्कीले जानकारी गराएका थिए । यस आर्थिक वर्ष २०७७÷७८ को ६९ लाख २७ हजार रुपैयाँमध्ये २८ लाख रुपैयाँ पुँगीजत खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७६÷७७ मा कूल ९६ लाख ५४ हजार ६ सय रुपैयाँमध्ये ६५ लाख ७९ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
वडाले शिक्षा, पूर्वाधार, स्वास्थ्य, रोजगारीलगायतमा ४० वटा योजना सञ्चालन गरेको छ । कोभिड–१९ को महामारीका बेला असंगठित क्षेत्रमा काम गर्ने एक सय ८६ जनालाई आपतकालीन खाद्यान्न वितरण गरेको वडा सचिव दुर्गाप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार यसमा तीन लाख २५ हजार रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा नमुना काम भएको वडावासीले प्रतिक्रिया दिएका थिए ।
उनका अनुसार वडाले सामाजिक सुरक्षा भत्ता आर्थिक वर्ष २०७६÷७७ मा पहिलो किस्ताको २८ लाख ३० हजार रुपैयाँमध्ये २७ लाख ३० हजार चार सय रुपैयाँ वितरण गरेको थियो भने बाँकी ९९ हजार ६ सय रुपैयाँ फिर्ता पठाएको थियो । ‘दोस्रो किस्ताको २७ लाख ९७ हजार आठ रुपैयाँ थियो,’ उनले भने, ‘त्यसमा २७ लाख ४१ हजार दुई रुपैयाँ वितरण गरेका थियौं भने ५६ हजार ६ सय रुपैयाँ फिर्ता पठाएका थियौं ।’ त्यस्तै उक्त भत्ताको तेस्रो किस्तामा २७ लाख १२ हजार रुपैयाँमध्ये २६ लाख ४२ हजार ६ सय रुपैयाँ वितरण गरेको र ६९ हजार ६ सय रुपैयाँ फिर्ता पठाएका वडा सचिव रिजालले जानकारी दिए ।
यस आर्थिक वर्षको हालसम्म वडाले पञ्जीकरणतर्फ १० हजार दुई सय ५०, सिफारिसतर्फ ४४ हजार ६ सय ५० र मालपोत तथा भूमिकरतर्फ ५४ हजार सात सय ९६ रुपैयाँ आम्दानी गरेका वडा सचिव रिजालले जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष कार्कीले जनताको साथ र सहयोगले वडालाई पूर्वाधारसँगै रोजगारीमा जोड्न मद्दत पुगेको बताए । प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रका बारेमा बराहताल गाउँपालिकाका रोजगार अधिकृत रामकृष्ण गौतमले जानकारी गराएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै सहभागीले जनतामुखी विकाससँगै जनतालाई रोजगारी दिनेखालका कामहरु हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रमलाई सम्बोदन गर्दै वडाध्यक्ष
कार्कीले जनताका माग र बस्तीको आवश्यकताअनुसार वडा काम गर्ने प्रतिबद्धता व्यक्ति गरे । ‘भौगोलिक विकटताका कारण केही काम गर्न समस्या भएको छ,’ उनले भने, ‘त्यस्तो कठिनाइपूर्ण अवस्थामा पनि निश्चित स्रोतसाधन प्रयोग गरी काम गरिरहेका छौं ।’ सार्वजनिक सुनुवाइ कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सर्वसाधारण, पत्रकारलगायतको सहभागिता रहेको थियो ।