सुर्खेतको पञ्चपुरी नगरपालिकाले यही फागुन तेस्रो हप्ता सम्म आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि पञ्चपुरी – ५ स्थित बाबियाचौरको पुरानो सेवाकेन्द्र नजिकै प्रशासकीय भवन निर्माणाधीन रहेको छ । ६ करोड ५९ लाखको लागतमा बन्ने भवन केन्द्र सरकारको २ करोड ५० लाख र बाँकी नगरपालिकाको आन्तरिक स्रोत बाट बन्न लागेको हो ।
नगरप्रमुख उपेन्द्र बहादुर थापाले यही फागुन तेस्रो हप्ता सम्म नयाँ भवनमा सर्ने तयारी रहेको बताएका छन । २८ कोठा रहेको भवन बालवालिका, जेष्ठ नागरिक र अपाङ्गता मैत्री समेत बनाइएको छ । अहिले भवनको भित्री संरचना कोठा, हल तयार गर्ने, छुट्याउने, रङरोगन गर्ने काम धमाधम जारी छ ।
रोयल कन्स्ट्रक्सनले ठेक्का पाएको सो भवन सम्झौता अनुसार वि सं २०७७ कार्तिक महिनामा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको जनाइएको छ ।
नगर प्रमुख थापाले भने ‘अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ ।’ थापाले नागरिकले नया भवनबाट सबै सेवा पाउने र नगरको कामका लागि अन्य शाखा हरुमा धाउनुपर्ने र धेरै समय कुर्नुपर्ने समस्याको अन्त्य हुने समेत बताए ।
भूकम्प प्रतिरोधि सो प्रशासनिक भवनमा सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्ष छुट्टै ‘मिनी मिटिङ हल’ तथा बिभिन्न शाखाका छुट्छुट्टै कोठा समेत रहेको छ । अहिले भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ ।
नगरपालिकाको ११ वडाका आफ्नै पक्कि भवन समेत सम्पन्न भएका छन् । ‘नगरको भौतिक पूर्वाधार विकास सँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमिकतामा रहेको र अहिले सबै काम सम्पन्न भएको थापाकोे भनाइ छ ।
सुर्खेत जिल्लाको पश्चिममा रहेको सालकोट, बाबियाचौर, छाप्रे, बिद्यापुर र तातापानी तत्कालीन गाउँ विकास समिति मिलाएर पञ्चपुरी नगरपालिका बनाइएको थियो ।