२४ माघ, सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिकामा २ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीका अनुसार पञ्चपुरी नगरपालिकामा ११ वटा वडाका २ हजार २ सय ३० जना किशोरीलाई एचपिभी खोप दिन लागिएको हो ।
विद्यालय र स्वास्थ्य संस्था गरी ३३ वटा खोप केन्द्रबाट २९ गतेसम्म एचपिभी खोप लगाइने छ । यही माघ २७ गतेदेखि २९ गते सम्म कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई खोप लगाइने उहाँको भनाई छ ।
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप प्रभावकारी भएकाले अभियानलाई सफल बनाउन शाखा प्रमुख पुरीले सबैलाई आग्रह गर्नु भएको छ । साथै उहाँले उमेर पुगेका लक्षित बालिकाहरुलाई खोप लगाएर पाठेघरको क्यान्सर हुने जोखिमबाट बालिकाहरुलाई जोगाउन समेत अनुरोध गर्नु भएको छ । नेपालमा औंसतमा दैनिक ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्यांक रहेको छ ।
