२३ माघ,सुर्खेत
सुर्खेतमा झुलुङ्गे पुलबाट भेरी नदीमा खस्दा दुईजना कामदार बेपत्ता भएका छन् । पञ्चपुरी नगरपालिका वडा नम्बर १० चाम्री र बराहताल गाउँपालिका वडा नम्बर ४ कुटाको बीचमा बन्दै गरेको भेरी पुलमा काम गर्दै गरेका नौ जना कामदारमध्ये दुई जना आज बिहान नदिमा खसेर बेपत्ता भएका हुन् ।
बिहान करिब साढे ११ बजेको समयमा पुलको लठ्ठा बाेक्ने क्रममा उनीहरू बेपत्ता भएका हुन्। बेपत्ता हुनेहरूमा रुकुम पूर्ब सिस्ने गाउँपालिका २ का वर्ष २४ का अनिल घर्ति र वर्ष १८ का अर्जुन झाँक्री रहेको बराहताल गाउपालिका वडा नम्बर ४ का वडा सदस्य जगत खड्काले शुभ सन्देशलाई जानकारी दिनुभएको छ।
अहिले बेपत्ताहरूको खोजीका लागि घटनास्थलमा अस्थायी प्रहरी पाेष्ट तरङ्गाका असई रमेश थापा, इलाका प्रहरी कार्यालय बाबियाचाैरका प्रहरी निरिक्षक रबिन्द्र सिंह कार्की सहितको टोली परिचालन भएको छ ।