१९ माघ सुर्खेत ।
गोल्डेन फ्युचर एकेडेमी पञ्चपुरी ५ बाबियाचौरको छैठौं वार्षिक उत्सव तथा अभिभावक भेला बाबियाचौरमा सम्पन्न भएको छ । बाबियाचौरमा भएको वार्षिक उत्सवमा विद्यालयमा वर्षभरी गरेका गतिविधिहरु विद्यालयको प्रगति विवरण लगायत अभिभावकहरूसँग विद्यार्थीहरूको क्षमता बारेमा जानकारी दिइएको छ ।
विद्यालयले विभिन्न कक्षागत रूपमा विद्यार्थीहरूको नृत्य समेत प्रस्तुत गरेको छ । कार्यक्रमको उद्घाटनमा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीले विद्यालयले गरेका गतिविधिहरू प्रशंसा योग्य रहेको र आगामी दिनमा अझै मनोरञ्जनका लागि बालबालिकाहरू सँग सम्बन्धित क्रियाकलाप गर्न सुझाव समेत दिनुभएको छ । साथै उहाँले विद्यार्थीहरूको लागि अभिभावकले गरेको लगनशीलता राम्रो रहेको समेत बताउनुभएको छ ।

विद्यालयका प्रिन्सिपल ताराप्रकाश कँडेलले विद्यार्थीहरू र अभिभावकहरूबीच समन्वय बढाउनको लागि आगामी दिनमा रचनात्मक क्रियाकलाप गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्न लागिपर्ने बताउनुभएको छ । कार्यक्रम प्रिन्सिपल ताराप्रकाश कँडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।