१९ माघ सुर्खेत ।
विद्याज्योति माध्यमिक विद्यालय पञ्चपुरी ५ बाबियाचौर सुर्खेतको आयोजनामा १६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको बीपी रङ्गशालामा सञ्चालन भएको खेलमा पञ्चपुरी नगरपालिकाभित्र रहेका १२ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो ।
राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगितामा प्रथम शिल्ड सुर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी २ पलैटेले १८ स्वर्ण ८ रजत र ६ कास्य पदक प्राप्त गरेर जितेको छ । त्यसैगरी बिद्याज्योती माध्यमिक बिद्यालय बाबियाचौरले ११ स्वर्ण १० रजत र १० कास्य पदक सहित दोस्रो र जनता माध्यामिक बिद्यालय बिद्यापुर ५ स्वर्ण ६ रजत र २ कास्य पदक सहित तेस्रो भएको छ ।

आगामी वर्ष हुने पञ्चपुरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता वडा नम्बर १० मा रहेको जनज्योति माद्यामिक विद्यालयमा हुनेभएको छ । खेलकुद कार्यक्रमको समापन मा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले यस वर्षदेखि खेलकुद छनौट प्रतियोगितालाई रनिङ शिल्डकै रुपमा अगाडि सारिएको बताउनुभएको छ । साथै उहाँले पञ्चपुरी नगरपालिकामा प्रथम दोस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूलाई जिल्लास्तरीय खेलकुद प्रतियोगितामा सहभागी गराउन सम्पूर्ण खर्च नगरपालिकाले बेहोर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतियोगितामा एथलेटिक्स, कबड्डी, भलिबल, मार्सल आर्ट लगायत बिभिन्न बिधाका खेलकुद समावेश गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान ल्याउने खेलाडीहरूलाई प्रमाणपत्र मेडल सहित सम्मान गरिएको छ । समापन कार्यक्रम विद्याज्योति माध्यमिक विद्यालय बाबियाचौरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लोकेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको हो ।
