२८ पौष, सुर्खेत ।
जनजागृत माध्यमिक विद्यालय पञ्चपुरी ८ दुलालथाइ सुर्खेतको ३७ औँ वार्षिक उत्सव कार्यक्रम आज सम्पन्न भएको छ । वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरेले पञ्चपुरी नगरपालिका भित्र रहेका माध्यमिक विद्यालयहरू मध्ये आफ्नो विद्यालयलाई शैक्षिक गुणस्तरमा अब्बल बनाउने प्रतिबद्धता गर्नुभएको छ । त्यसैगरी आगामी पाँच वर्षभित्र विद्यालयलाई नमुना विद्यालयको रूपमा परिणत गर्ने र भौतिक संरचनाहरूलाई व्यवस्थित गर्दै लैजाने योजना अघि सार्नुभएको छ ।

कार्यक्रममा पञ्चपुरी नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले जनजागृत विद्यालयले गरेका अभ्यासहरू सकारात्मक र प्रशंसनीय रहेको बताउनुभएको छ । साथै उहाँले विद्यालयको समग्र विकासका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।
कार्यक्रममा पञ्चपुरी नगरपालिका नगरप्रमुख लालवीर भण्डारीले नगरपालिकाभित्रको शैक्षिक स्थितिलाई सुधार ल्याउनको लागि पोषणयुक्त खाजाको व्यवस्थापन गरिने बताउनुभएको छ । साथै बेलाबेला विद्यालयको शैक्षिक प्रगतिको विवरण अध्ययन गर्दै शैक्षिक स्तर वृद्धि गर्न थप कार्यक्रम विस्तार गरिने बताउनुभएको छ ।

विद्यालयले विद्यालयको समग्र प्रगतिका लागि योगदान दिने विभिन्न समिति, अभिभावक, शिक्षक लगायतलाई सम्मान समेत गरेको छ । सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै सञ्चालन भएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्ति प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
