नेपाल शिक्षक संघ नगर कार्यसमिति पञ्चपुरीको चौथो नगर परिषद आज सुर्खेतको बाबियाचौरमा सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकामा रहेका नेपाली काङ्ग्रेस आवद्ध शिक्षकहरुको भेलामा आफ्नो आगामी कार्यक्रमका बारेमा समेत जानकारी दिईएको छ ।
समितिले १ बर्षको अवधिमा २ सय ५० जना सदस्य बनाउने, नेतृत्व बिकासको तालिम आयोजना गर्ने, बिषयगत तालिमको आयोजना गर्ने, शैक्षिक भ्रमण तथा शिक्षक संघको भवन निर्माण गर्ने योजना बनाएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पञ्चपुरी नगरपालिका प्रमुख लालबिर भण्डारीले बिद्यालय समयमा शिक्षकले पठनपाठनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । पछिल्लो चरणमा शिक्षकहरुले राजनिती गर्छन भन्ने जनताको सोचलाई हटाउन शैक्षिक गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभएको छ । भण्डारीले नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने गरि काम अगाडि बढाएको हुदा शिक्षक संघले त्यसमा आवश्यक सहयोग र सुझाव दिन आग्रह गर्नुभएको छ ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सहमहामन्त्री उपेन्द्र बहादुर थापाले शिक्षक र जनप्रतिनिधिले जति काम गरेपनि श्रेय कम पाउने गरेको बताउनुभयो । जनताको भावना ईच्छा र चाहना अनुसार काम गरेमात्र सबैको प्रगति हुने हुदा शिक्षकले सहि मार्गदर्शन दिनुपर्नेमा जोड दिनुभएको छ । थापाले शिक्षक संघकै कारण स्थानीय तथा प्रदेश तहको चुनावमा सफलता प्राप्त भएको हुदा आगामि दिनमा शिक्षकको सहयोगका लागि निरन्तर लागिरहने बताउनुभएको छ । भेला शिक्षक संघ पञ्चपुरीका अध्यक्ष हिरामणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।