काठमाडौँ ।

नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तयारीअन्तर्गत आज देशभर पालिका तहको अधिवेशन गर्दैछ। स्थानीय तहमा पार्टीको नयाँ सांगठनिक संरचना निर्माण गर्ने उद्देश्यसहित पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अधिकांश वडामा नेतृत्व चयनको प्रक्रिया सम्पन्न भइसकेको छ। केही स्थानमा भने बाढीपहिरोलगायतका कारण अधिवेशन प्रभावित भएको थियो।
नुवाकोट र धादिङका बाढीपहिरो प्रभावित सबै वडामा मंगलबार अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। मधेश प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सम्पन्न भएको समितिको भनाइ छ।
बाढीपहिरोका कारण प्रभावित रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राख्दै केही दिनपछि मात्रै अधिवेशन गर्ने तयारी गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।
नयाँ विधान तथा निर्वाचन निर्देशिकाअनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा पाँच जना पदाधिकारी निर्वाचित हुनेछन्। जसमा सभापति, एक महिलासहित दुई उपसभापति, सचिव र सहसचिव रहने व्यवस्था छ।
कोषाध्यक्ष भने निर्वाचित कार्यसमिति सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने प्रावधान छ।
देशभरका ७५३ पालिकामा पाँच–पाँच जना पदाधिकारी चयन हुँदा आज कांग्रेसको पालिका तहमा कुल ३ हजार ७६५ जना पदाधिकारी नेतृत्वमा आउनेछन्।
पालिका अधिवेशनसँगै कांग्रेसको स्थानीय तहको नयाँ सांगठनिक नेतृत्व चयन प्रक्रिया थप अघि बढ्ने भएको छ।











