७ जेठ, सुर्खेत
पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा सुरक्षित पानी संकलन, भण्डारण, पानी शुद्धीकरण तथा उपचार अभ्यास सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानीय समुदायलाई स्वच्छ र सुरक्षित खानेपानीको प्रयोगबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागीहरूलाई पानी संकलन गर्दा अपनाउनुपर्ने सावधानी, पानी सुरक्षित रूपमा भण्डारण गर्ने तरिका, उमालेर तथा विभिन्न विधिबाट पानी शुद्धीकरण गर्ने उपायबारे जानकारी गराइएको थियो । साथै दूषित पानीका कारण फैलिन सक्ने विभिन्न रोग तथा त्यसबाट बच्ने उपायका विषयमा पनि सहजीकरण गरिएको थियो ।
सहभागीहरूले दैनिक जीवनमा सुरक्षित खानेपानीको प्रयोगले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भन्दै यस्ता सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताएका थिए । कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा नं.५ का अध्यक्ष नगेन्द्र बहादुर शाहीले स्वच्छ पानी प्रत्येक नागरिकको आधारभूत आवश्यकता भएकाले यसको सुरक्षित प्रयोग र संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताएका छन् । साथै समुदायस्तरमै सरसफाइ र सुरक्षित पानीको अभ्यास बढाउन निरन्तर अभियान सञ्चालन गरिने जनाइएको छ ।













