अपाङ्गता भएका व्यक्तिहरूका लागि पञ्चपुरी ३ मा शिविर सञ्चालन

114 पटक हेरिएको

१८ फागुन सुर्खेत ।
अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता पहिचान शिविर आज पञ्चपुरीमा सञ्चालन गरिएको छ । पहुँच तथा समावेशीकरण परियोजना आइएनएफ सुर्खेत, पञ्चपुरी अपाङ्गता उत्थान केन्द्र बाबियाचौर सुर्खेतको समन्वय र पञ्चपुरी नगरपालिका वडा नम्बर ३ को कार्यालयको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको अवस्था तथा परामर्श र उपचार सम्बन्धी परामर्श र जानकारी दिइएको छ ।

साइनिङ अस्पताल सुर्खेतका स्वास्थ्यकर्मीहरूद्वारा शिविरमा सहभागी अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गरिएको हो । शिविरको उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका प्रमुख लालवीर भण्डारीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निरन्तर काम गरिरहेको बताउँदै समावेशीकरण परियोजनाले गरेको काम उदाहरणीय भएको बताउनु भएको छ ।
साथै भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाले यातायात व्यवसायीसँग परामर्श र समन्वय गरी यातायातमा ५०% छुट दिने व्यवस्था गरेको समेत बताउनुभएको छ । कार्यक्रममा नगरपालिका उपप्रमुख मुक्ति रेग्मीले अपाङ्गता परिचय पत्र बनाउन भत्ता प्राप्त गर्न मात्र नभई विभिन्न राज्यका सेवा सुविधा लिनको लागि सहज हुने भएको हुँदा अपाङ्गता भएका व्यक्तिहरूले अनिवार्य बनाउनुपर्ने बताउनुभएको छ ।

पहुँच तथा समाबेशीकरण पारियोजनाका परियोजना अधिकृत लोकप्रसाद गौतमले परियोजना सफल बनाउनको लागि नगरपालिका र स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएको हुँदा यसमा सबैको साथ आवश्यक रहने बताउनुभएको छ। साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको लागि नगरपालिकाले सहयोग गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि आग्रह गर्नुभएको छ। उद्घाटन कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष बलबहादुर रोकायले अघिल्ला वर्षहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गर्दै आएको र यस वर्ष स्वास्थ्य परीक्षण महत्वपूर्ण भएको हुँदा यसलाई अगाडि बढाइएको बताउनुभएको छ । साथै उहाँले समन्वय र सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद समेत दिनुभएको छ । कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य सुरज कार्कीले गर्नुभएको थियो । शिविरमा ३८ जनाले सेवा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

खोजि गर्नुहोस ...