२९ चैत, सुर्खेत ।
श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलसँग पारिवारिक भेटघाट तथा बधाई कार्यक्रम पञ्चपुरीमा सम्पन्न भएको छ । हालै सम्पन्न राजनीतिक उपलब्धिपछि उनलाई सम्मान तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले भेटघाट कार्यक्रममा परिवारका सदस्य, आफन्तजन तथा नजिकका सहयोगीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले सांसद रम्तेललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा जनताको हितमा अझ प्रभावकारी रूपमा काम गर्न प्रेरणा दिएका थिए । सहभागीहरूले उनको राजनीतिक यात्रालाई सराहना गर्दै समाज र राष्ट्रका लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन ।

सांसद रम्तेलले आफ्नो संसद यात्राको पहिलो अनुभव भएको बताउँदै सबै कुरालाई सिक्दै अगाडि बढ्ने बताउनुभएको छ । कर्णाली भौगोलिक र हरेक दृष्टिकोणले पछाडि परेको स्मरण गर्दै उहाँले यहाँका समुदायका आवाजहरूलाई संसदमा पुर्याउने आफ्नो पहिलो काम हुने बताउदै नीति निर्माण तहमा आफूले पिछडिएका वर्गको हितका लागि आवाज उठाउने बताउनुभएको छ । साथैैँ रम्तेलले राम्रो कामको लागि सरकारलाई सधैँ साथ रहने र खबरदारी गर्ने कुरामा पनि आफ्नो पार्टी निरन्तर लाग्ने बताउनुभएको छ ।
सुर्खेत पश्चिम विकासको दृष्टिकोणले पछाडि परेको र यस क्षेत्रको विकासका लागि पनि समस्यालाई मध्यनजर गर्दै आवश्यक पहल गर्ने समेत उहाँको भनाइ रहेको छ ।
सांसद रम्तेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै आफूलाई प्राप्त समर्थन र विश्वासलाई उच्च सम्मानका साथ ग्रहण गर्ने बताउनुभएको छ । उहाले जनताको अपेक्षा पूरा गर्न सदैव प्रतिबद्ध रहने उल्लेख गर्नुभएको छ ।













