३० पाैष सुर्खेत ।

पञ्चपुरी नगरपालिका र साईनिङ्ग अस्पताल आई एनएफ नेपाल सुर्खेतकाे साझेदारीमा अपाङ्गता स्वास्थ्य परिक्षण तथा आवश्यकता पहिचान शिविर सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर २,३, ४ ,५ र ६ का अपाङ्गता भएका व्यक्तिहरूलाई शिविरमा जाँच गरिएको छ । पञ्चपुरी नगरपालिकाको वडा नम्बर ४ को वडा कार्यालयमा भएको स्वास्थ्य जाँच शिविरमा ४४ जनाले सेवा लिएका छन् । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले नगरपालिकाले आइएनएफ सुर्खेतलाई कार्यक्रम सफल बनाउन निरन्तर साझेदारी र सहयोग गरेको स्मरण गराउँदै संस्थाले पञ्चपुरीमा अपाङ्गता भएका व्यक्तिको लागि सहयोग र साझेदारी गरेकोमा धन्यवाद समेत दिनुभएको छ । साथै उहाँले आगामी दिनमा यस्ता खालका कार्यक्रमलाई सबै वडामा पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक यामबहादुर बिसीले अपाङ्गता भएका व्यक्तिको संस्थागत विकासका लागि नगरपालिकाबाट बजेट विनियोजन समेत गरेको जानकारी दिनुभएको छ । कार्यक्रममा बोल्दै पञ्चपुरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद अधिकारीले संस्थाले अपाङ्गता भएका व्यक्तिको पहिचान गरेर आवश्यक सहयोग गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ ।













