२८ पाैष, सुर्खेत ।

जनजागृत माध्यमिक विद्यालय पञ्चपुरी ८ दुलालथाई सुर्खेतले ३८ औं बार्षिकाेत्सव सम्पन्न गरेको छ । विद्यालयले आज एक कार्यक्रमका बीच वार्षिक उत्सव सम्पन्न गरेको हो । वार्षिक उत्सवमा विद्यालयका सहायक प्रधानाध्यापक नवीनकुमार बिसीले विद्यालयको आर्थिक तथा भौतिक अवस्था र आगामी दिनमा विद्यालयले चालेका योजनाहरूलाई प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विभिन्न सामाजिक व्यक्तित्वहरूले पञ्चपुरीको सबैभन्दा पछि स्थापना भएको माध्यमिक विद्यालयले गरेको शैक्षिक गुणस्तर तथा राम्रा अभ्यासले अरुको लागि सिकाई हुने बताएका छन् । कार्यक्रममा पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले नगरपालिकाको शैक्षिक स्तर वृद्धिका लागि माध्यमिक तहमा विभिन्न आर्थिक तथा भौतिक सहयोगका कार्यक्रम सञ्चालन गरेको बताउनुभएको छ । साथै उहाँले नगरपालिकाले गरेका सकारात्मक कामहरूको चर्चा गर्दै सबैलाई यस विषयमा प्रचारप्रसार गर्न आग्रह समेत गर्नुभएको छ । भण्डारीले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिका लागि अभिभावक शिक्षक र विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । विद्यालयले वार्षिक उत्सव सञ्चालन गर्नको लागि विभिन्न सामाजिक व्यक्तिहरूबाट सहयोग समेत प्राप्त गरेको छ । वार्षिक उत्सवमा सहयोग गर्ने सहयोगी निकाय र विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ । आजको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थानीप्रसाद घिमिरे र पुर्व प्रधानाध्यापक यामलाल घिमिरेले अक्षयकोष स्थापनाका लागि जनहि ५० हजार सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभएको छ । विद्यालयमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने कर्णाली सांस्कृतिक समाज पञ्चपुरी ८ का महिलाहरूले देउडा खेल समेत प्रदर्शन गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो ।













