सुर्खेत को पश्चिम क्षेत्र बिकास को सम्भावना भए पनि अहिलेसम्म समस्या जस्ताको त्यस्तै रहेको छ । बि सं २०४९ सालमा बड्डिचौर बेनिघाट सडक निर्माणको काम सुरु हो । निर्माण भएको अवस्था देखि अहिले सम्म बाटो को खासै स्तर उन्नति भएको छैन । २ दशक बितिसक्दा पनि पश्चिम क्षेत्रमा नेता धेरै फेरिए तर बाटो र बिकासको मुहार फेरिएको छैन । सुर्खेतको सदरमुकाम बिरेन्द्रनगर पुग्न बड्डिचौर सम्म हिडेर जानुपर्ने बाध्यता केही कम भए पनि बर्षातको समयमा गाडि डोरी लगाएर तान्नुपर्ने, धकेल्नुपर्ने, ढुंगा हालेर गाडि निकाल्नुपर्ने, खोलामा पानीको बहाव बढ्दा घण्टौ सम्म कुर्नुपर्ने यी समस्या जस्ताको तस्तै रहदै आएको छ ।
बिउरेनि खोला, सियालिघाट खोला, चतुरे खोला, बिद्यापुर खोला, गुटुखोला, बिजौरा, बेतान, लगाम का दर्जनौं खोलामा पुल नहुदा नागरिकलाई दिनहु सास्ती हुने गरेको छ । चुनाव का समयमा धेरै नेताले बाटो बनाउने प्रतिबद्धता घोषणा पत्रमा राखेर चुनाव जितेर पनि आफ्ना प्रतिबद्धता बिर्सेका छन । पश्चिम क्षेत्रले सांसद देखि मन्त्री सम्म जन्माएको छ तर बाटो बनाउने नेता नजन्माएको स्थानीय बताउँछन् । २०४८ साल यता जनताले शिवराज जोशी, नरबहादुर बिष्ट, तप्तबहादुर बिष्ट, बिन्दमान बिष्ट र नवराज रावतलाई प्रत्यक्ष चुनाबमा जिताए ।
२०४९ सालमा काङ्ग्रेस बाट निर्वाचित शिबराज जोशी यातायात सहायकमन्त्री भएपछि बड्डिचौर बेनिघाट ग्रामीण सडकका नाममा काम सुरु गरियो र बिजौरा सम्म बाटो पुग्यो । जनतालाइ राजापुरबाट नुन बोकेर ल्याउनुपर्ने बाध्यता हटेर गयो । बिजौरा सम्म बाटो बनाएकै कारण जनताले पटक पटक जोशीलाई निर्वाचित गराए । जोशी सौभाग्यले संचार मन्त्री, जनसंख्या बाताबरण राज्य मन्त्री सम्म भए ।
द्वन्द्वकाल पछि बिकासको ठुलो आसा बोकेका जनताले संबिधान बनाउन नरबहादुर बिष्टलाई जिताए कारणबस संविधान घोषणा हुन सकेन । त्यसपछि स्व.तप्तबहादुर बिष्ट बिजयी भए । उनका पालामा संबिधान बन्यो बिष्ट संचार राज्यमन्त्री बनेपछि पुल सडक संजाल धेरै जोडिए । बड्डिचौर बेनिघाट सडक को स्तरोन्नतीका लागि बजेट बिनियोजन गरियो । ग्यामिनेखोला, चौर खोला, र मैनघाट खोलामा पक्कि पुल निर्माण गरियो । खम्मगाडे पलैटे हुँदै बाबियाचौर सम्म बाटो पिच भयो । बिजौरा सम्म ग्राबेल, बिजौरा देखि बेनिघाट सम्म रणनीतिक सडक र ५ करोड बजेट तप्त बिष्टको समयका बिनियोजन भयो र लगाम सम्म गाडि गुड्न थाले । बिष्टको समयमा बेनिघाट सम्म विभिन्न खोलाहरुमा पुलको डिपिआर र सर्भे समेत गरिएको छ ।
बाटो ग्राभेल गरेर बड्डिचौर सम्म पैदल हिड्नुपर्ने बाध्यता हटे पनि लगाम बेतानका नागरिक लाई बिजौरा सम्म हिड्नुपर्ने बाध्यता अझै हटेको छैन । प्रत्यक्ष रुपमा निर्वाचित बिन्दमान बिष्ट र नवराज रावतको समयमा मदन भण्डारी राजमार्ग नामाकरण भयो अनि स्वास्थ्य राज्यमन्त्री रावतले डिपिआरको आफै उद्घाटन गरे तर त्यसको काम सुरुवात अहिलेसम्म भएको छैन । बड्डिचौरदेखि लगामसम्म ९४ किलोमिटर रहेको यो खण्डमा ५० मिटर चौडा सडक बनाउने भनिएको छ । सडकको अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कन ‐ईआईए) समेत भएको छैन । राजमार्गमा परेपनि सडक सुधार–विस्तारको कामले गति लिन नसकेको हो ।
पञ्चपुरी नगरपालिका–५ बाबियाचौरका यादव पौडेलले नजिकको दुरीमा पनि बिहान गाडी चढ्यो भने साँझ मात्रै पुग्ने गरिएको बताए । ‘यहाँ त सडक नामको मात्रै छ,’ उनी भन्छन्, ‘पश्चिमका सडकले सुविधाभन्दा सास्ती धेरै दिएका छन् ।’ यस क्षेत्रमा धेरैजसो सडक पुरानै छन् । मर्मत–सम्भार नहुँदा नागरिकहरू बाह्रै महिना कष्टकर यात्रा गर्न बाध्य भएका हुन् । सडक सुधारमा तीनै तहका सरकारले चासो नदिएको स्थानीयको गुनासो छ ।
विकास ओसार्ने मुख्य माध्यम सडककै हालत बिजोग भएपछि पश्चिम सुर्खेतको समग्र विकासमा बाधा भइरहेको छ । सडक पूर्वाधार भरपर्दो नहुँदा अरु विकास निर्माणमा पनि असर पुगेको हो । सडक स्तरोन्नतिमा ध्यान नदिँदा यस क्षेत्रका नागरिकले वर्षाैंदेखि सास्ती भोग्नु परिरहेको छ । यहाँका सबैजसो सडक कच्ची छन् । जसले गर्दा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । अधिकांश सडक खण्डमा वर्षात्को समयमा गाडि नै चल्दैनन् । एम्बुलेन्ससमेत चल्ने अवस्था नभएपछि बिरामीलाई बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ ।
पश्चिमको सडक समस्या नयाँ होइन । हरेक तहका निर्वाचनमा नेताहरूका लागि यिनै सडक प्रमुख एजेण्डा बन्छन् । झन्डै तीन दशकदेखि यस क्षेत्रमा सडक राजनीति चलिरहेकै छ । चुनावताका खुबै चर्चा हुने सडक सुधार भने कहिल्यै हुँदैन । भोट माग्दा प्राथमिकताका साथ प्रतिवद्धता जनाइए पनि त्यसपछि यो विषय विस्तारै ओझेल पर्छ ।
पश्चिमको बिकासका लागि शिबराज जोशी, नरबहादुर बिष्ट, तप्त बिष्ट, बिन्दमान बिष्ट, नवराज रावत, हृदयराम थानी, खड्क बस्याल, यज्ञ बहादुर बुढाक्षेत्री, पुष्पा घर्ती, नन्दा शर्मा निर्वाचित र समानुपातिक बाट प्रतिनिधित्व गर्ने नेताहरु हुन भने जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छबिलाल सिग्देल अहिले समन्वयको भुमिका मा छन । जिल्लाका पार्टिगतरुपमा नेतृत्व गर्ने नेताहरु पनि पश्चिम सुर्खेतकै बढि रहेका छन । तर हरेक बर्ष झै यस बर्ष पनि पश्चिम को बाटोमा गाडि गुड्नको लागि कठिन भएको छ ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापाले संघीय सरकारकै ढिलासुस्तीका कारण सडक समस्या उस्तै ररिरहेको बताए । संघ र प्रदेश सरकारसँग स्थानीय तहले बारम्बार सडक सुधारका लागि पहल गरिरहेको उनले जनाए । माथिल्लो तहका सरकारले सुरू गरेका सडक योजना समयमै सम्पन्न नहुँदा पश्चिम सुर्खेतका बासिन्दाले समस्या झेल्दै आएका छन्,’ उनले भने, ‘सरकारले यहाँको सडक निर्माणलाई प्राथमिकता नै दिएको पाइँदैन ।’ मदन भण्डारी राजमार्ग नामाकरण भएपछि डीपीआर मात्रै निर्माण भएको छ । ईआईए गर्नमै अझै दुई वर्ष लाग्ने भएकाले सडक निर्माणमा ढिलाइ हुने देखिएको नगरप्रमुख थापा बताउँछन् । प्रदेश सरकारसँग पञ्चपुरी–३ खम्मगाडेदेखि गुठुसम्मको सडकका लागि बहुवर्षिय योजना सञ्चालन गर्न बजेटको पहल भइरहेको उनले जनाए ।
त्यस्तै, पश्चिम सुर्खेतबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बिन्दमान विष्टले चालु आर्थिक वर्षमा बड्डिचौरदेखि बाबियाचौरसम्म सडक सुधार गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिए । उनका अनुसार यो सडक खण्डको स्तरोन्नतिका लागि अबको एक महिनामा टेन्डर गर्ने तयारी भइरहेको छ । त्यसका लागि कर्णाली सरकारले १० करोड बजेट विनियोजन गरेको र अपुग भए बजेट थप गर्न सकिने समेत विष्टले बताए । उनले मदन भण्डारी राजमार्ग आयोजनासँग पनि सडक निर्माणलाई गति दिन पहल भइरहेको जनाए ।