वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कामलाई अघि बढाउनको लागि अछाम र सुर्खेतका जनप्रतिनिधिले माग गरेका छन । उनिहरूले बुधबार आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँग छलफल गरेका छन् ।
अछाम–सुर्खेत बीचमा रहेको कर्णाली नदीमा निर्माण गरिन लागेको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका देखिएका समस्याका वारेमा छलफल भएको छ ।
जनप्रतिनिधी हरूले वेतन कर्णालीका कारण जंगलघाटमा बन्ने पुल डुव्ने भए विकल्प खोज्नुपर्ने,जग्गाकाे मुआब्जा चाँडो वितरण गर्न र जग्गाको वर्गिकरण न्यायोचित हुनु पर्ने विषयमा सुझाव दिएका छन ।
वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनमा देखिएको समस्या समाधानको लागि केही दिनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, अछाम र सुर्खेतका जनप्रतिनिधि र प्राविधिक सहित टोली आयोजनमा स्थलमा आउने पूर्व मन्त्री कुँवरको भनाई रहेको छ।
सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ का बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेसक्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६ को ढुङ्गाचाल्नामा निर्माण हुनेछ ।
ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको छ । आयोजनाले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिने र यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३ सय ३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् ।
वेतन कर्णाली जलविद्युत् आयोजनाबाट प्रभावित हुने करिब दुई हजार ५०० रोपनी जग्गामध्ये अछामको तुर्माखाँद र ढकारीमा एक हजार ८४४ रोपनी जग्गा पर्छ । आयोजनाबाट अछामको ढकारी गाउँपालिका–६, तुर्माखाँद गाउँपालिकाका–३, ४ र ५ नाडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।
आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ मा र बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्नेछ । आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँगको छलफलमा सुर्खेतका सांसद ह्रदयराम थानी, सविधानसभा सदस्य शरदसिंह भण्डारी, नेपाली कांग्रेसका नेता महासमिति सदस्य बल बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।