देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाबाट जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
राती देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना छ।
शुक्रबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ।
शनिबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।
कुन नदी र जिल्ला प्रभावित
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार बिहीबार बिहानको मापन अनसार बदिगाड रुद्राबेनी र सुनकोशी दोलालघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको छ। कन्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा छ तथा सबैमा बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
बिहीबार कोशी, नारायणी, कर्णाली र महाकाली जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा भई बहाब बढ्ने र केही स-साना नदीमा आकस्मिक बहाब भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। आज कन्काई, कमला, बागमती र यसका सहायक नदीमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता भन्दा तलै हुने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम राप्ती, तिनाउ, बबईका स-साना नदीजलाधारमा बहाब बढ्दो हुने र केहीमा सतर्कता तह पुग्न सक्ने पूर्वानुमान छ।
आज बागमती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्गजा, लुम्बिनी प्रदेशको प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट, दैलेख, कालिकोट, हुम्ला, सुदूरपश्चिम प्रदेशको कंचनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहिमा आकस्मिक वहाव भई सतर्कता आसपास पुग्न सक्ने पुर्वानुमान छ। annapurna